सर्लाही । सर्लाहीका कविलासी नगरपालिका, विष्णु, बसबरिया र पर्सा गाउँपालिकाले अझैसम्म बजेट ल्याउन नसक्दा विकास निर्माणका काम ठप्प भएका छन् । राजनीतिक खिचातानी र बजेट बाँडफाँटमा सहमति नहुनुले बजेट आउन नसकेको हो ।
बजेट नआउँदा यी चारवटै पालिकामा सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन भने कर्मचारीहरूले समेत तलब पाउन सकेका छैनन् । पालिकामा बजेट नआउँदा सबै प्रकारका विकास निर्माणको काम रोकिएको छ । चाडपर्वका समयमा पनि कर्मचारीहरूले तलब नपाउँदा कठिनाइ भोग्नुपरेको छ ।
कविलासी नगरपालिकामा नगर प्रमुख ब्रह्मदेव राय, उपप्रमुख पुनम कर्ण, र वडाध्यक्षबीच बजेट बाँडफाँटको विषयमा सहमति हुन नसकेकाले समस्या उत्पन्न भएको हो । यहाँ प्रमुख प्रशासकीय अधिकृत विष्णु यादवको सरुवा भएसँगै प्रशासनिक कामकाजमा समेत समस्या देखिएको छ, र निमित्त प्रशासकीय अधिकृत तोकिएको छैन ।
बसबरिया गाउँपालिकामा अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता साहबीचको राजनीतिक टकरावले बजेट पास हुन सकेको छैन । उपाध्यक्ष साहले अध्यक्ष रायको तानाशाही प्रवृत्तिका कारण समस्या भएको आरोप लगाउँदै, अधिकार प्रत्याभूति नहुँदासम्म बजेट आउन नदिने बताइन् । अध्यक्ष रायले भने बहुमत सदस्य उपाध्यक्षतिर भएकाले बजेट पास गर्न कठिन भएको जनाए ।
पर्सा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक अख्तियारी नदिँदा बजेट ल्याउन समस्या भएको छ । अध्यक्ष धीरेन्द्र रायले अबको एक हप्ताभित्रमा बजेट ल्याउने प्रयास भइरहेको बताए ।
विष्णु गाउँपालिकामा भने गाउँसभाको उद्घाटन समेत गर्न बाँकी रहेको छ । अध्यक्ष जवाहर यादवले आफू गम्भीर बिरामी परेकाले समयमा गाउँसभा गर्न नसकेको बताए पनि अन्य जनप्रतिनिधिहरूले उनको एकल निर्णयका कारण बजेट नआएको आरोप लगाएका छन् ।




