काठमाडौं । गएराति मधेसका विभिन्न जिल्लामा भएको बेमौसमी वर्षा र हावाहुरीले पाकेको धानसहित विभिन्न अन्नबालीमा ठूलो क्षति पुर्याएको छ । सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहितका जिल्लामा किसानले थन्क्याउन ठिक्क पारेको धानबालीमा सबैभन्दा नराम्रो असर परेको किसानहरूले बताएका छन् ।
मधेसका अधिकांश जिल्लामा हावाहुरीसहितको वर्षाले धानबाली प्रभावित भएको हो । धेरै किसानले काटेर खेतमै छाडेको धान पानीमा डुबेको छ, भने काट्न बाँकी धान पनि हावाहुरीले खेतमै नष्ट गरेको छ । साथै, भर्खरै छरिएको तोरी, चना, मुसुरो सहितका बालीहरूमा पनि वर्षाले क्षति पुर्याएको छ । यद्यपि, यो वर्षाले मंसिरमा पाक्ने धान, उखु र तरकारी बालीलाई भने फाइदा पुर्याएको किसानहरूले बताएका छन् ।




