काठमाडौं । एमाले सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । उनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने दिन अर्थात् आज (आइतबार) सांसद पदबाट राजीनामा दिएका हुन् ।
नेता रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद हुन् । उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल पक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनलाई पार्टीका क्रियाशिल नेताहरुले राजीनामा नदिन आग्रह गरेका थिए । तर उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै उनले राजीनामाकाे घाेषणा गरे । आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने उनकाे तर्क छ ।
उनी भन्छन् – ‘देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु ।’
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक समेत थिए ।






