सप्तरी । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आइतबार सर्पदंशका कारण एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामस्वरूप मण्डलकी ९ वर्षीया छोरी प्रियङ्का मण्डललाई शनिबार साँझ पूजा कोठामा धुप लगाउने क्रममा सर्पले डसेको थियो ।
सर्पदंशपछि उनलाई तत्कालै कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरियो । त्यहाँ रातभरि उपचार भए पनि उनकी छोरीको अवस्था गम्भीर भएपछि आइतबार बिहान सिरहाको चोहर्वास्थित नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको थियो ।
चोहर्वा लैजाने क्रममा प्रियङ्काको बाटोमै मृत्यु भएको उनका बुवा रामस्वरूप मण्डलले बताएका छन् । मृतक बालिकाको आइतबारै अन्त्येष्टी गरिएको परिवारजनले जनाएका छन् ।




