पोखरा । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले घरघरमा पुगेर सहकारी पीडितलाई भड्काउने कार्य गरेकोमा आपत्ति जनाएको छ । बुधबार जारी गरेको विज्ञप्तिमा संघले यस्तो गुनासो गरेको हो ।
संघले बचत फिर्ताको माग गर्दै बिहिबार बिहान ११ बजे पोखराको मुस्ताङचोकमा ठूलो प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, “मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेको बचाउ अभियानमा पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरणलाई बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध नाराबाजी र भाषण गर्दै घरघरमा पुगेर भड्काउने काम गरेकोमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ ।”
संघले सहकारीको बचत फिर्ता गर्न र अनुसन्धान प्रभावित गर्नका लागि भइरहेको प्रदर्शन तुरन्त रोक्नको लागि पनि माग गरेको छ । उनीहरूले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई डराउन र पिट्नुपर्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् । रास्वपा सरकारमा हुँदा पनि आफूहरूले सहयोग माग्दा कुनै सहयोग नपाएकोमा गुनासो गरिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, “विगत दुई वर्षदेखि यो पार्टी सरकारमा हुँदा वा नहुँदा पार्टीका नेतासँग हारगुहार गर्दा र ज्ञापन पत्र बुझाउँदा पनि पीडितको समस्या समाधानका लागि कुनै सहयोग प्राप्त भएको छैन ।”
संघले आफ्नो गम्भीर समस्यामा राजनीतिक खेल भइरहेको आरोप लगाउँदै प्रश्न गरेका छन्, “पार्टी सभापतिविरुद्धको किटानी जाहेरीको विषयमा के भइरहेको छ ? किन पीडित बचतकर्तासँग कुनै सल्लाह गरिएन ?” यसरी भएको प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको उनीहरूको तर्क छ ।






