सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर नाखा टोलमा वनकर्मीको टोलीले बिहिबार भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ । विशेष सुराकीको आधारमा डिभिजन वन कार्यालय सर्लाहीको टोलीले बिहान ९ बजेतिर जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरमा छापा मार्दा हरिणको मासु फेला परेको हो ।
सर्लाहीका डिभिजन वन अधिकृत सन्तोषकुमार झाका अनुसार, विकको घरबाट २ केजी र महराको घरबाट १३ केजी हरिणको मासु बरामद भएको छ । मासु बरामद भएपनि विक र महरा फरार छन्, र उनीहरूको खोजी भइरहेको छ ।
तलासीको क्रममा महराको बारीमा लुकाइएको भरुवा बन्दुक, त्यसमा प्रयोग हुने नाल र एक खुकुरी समेत बरामद गरिएको छ । बन्दुकमा टर्च लाइट जडान भएकाले उक्त हतियारले वन्यजन्तुको सिकारमा प्रयोग गरिएको हुन सक्ने आशंका छ ।
डिभिजन वन कार्यालयले बरामद मासुलाई जनप्रतिनिधि, सञ्चारकर्मी र वन कर्मचारीहरूको उपस्थितिमा कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरेको छ । हतियार र अन्य सामग्री बारे थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।




