वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२ को लागि ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष सुरु भएको तीन महिना ढिलो गरी बिहीबार सम्पन्न ११ औं नगर सभामा यो बजेट प्रस्तुत गरिएको हो ।
नगरपालिकाको कार्यालय, बहुअरी पिडरीको सभाहलमा भएको नगरसभामा उपमेयर सुष्मा कुशवाहाले ‘बहुदरमाई बासीको रहर, स्वच्छ, सुन्दर, सुरक्षित, समृद्ध नगर’ भन्ने नारासहित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिन् ।
बजेटमा संघीय सरकारबाट १२ करोड २९ लाखको समानीकरण अनुदान, १९ करोड २९ लाख ९ हजारको सर्शत अनुदान, १ करोड ५० लाखको विशेष अनुदान र ९ करोड ७१ लाख राजस्व बाँडफाँटमार्फत प्राप्त हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट ८९ लाखको समानीकरण अनुदान, ९५ लाखको सर्शत अनुदान, ३० लाखको विशेष अनुदान, २० लाखको समपूरक अनुदान र ३० लाख ४० हजार राजस्व बाँडफाँटमार्फत प्राप्त हुने अनुमान छ ।
आन्तरिक स्रोतहरूबाट ३ करोड ५४ लाख ६० हजार सङ्कलन गरिने छ । जिल्लाको समन्वय समिति, स्थानीय निकायहरू र अन्य स्रोतहरूबाट ४९ लाख ८४ हजार मौज्दात, ५० लाख स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट र ४० लाख सडक बोर्डको सशर्त अनुदानबाट प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धन, उद्यमशीलता, र रोजगारीलाई प्राथमिकता दिइएको छ । विगतमा जनप्रतिनिधिहरु बीचको विवाद र बजेटको बाँडफाँटका कारण नगरसभा पटक-पटक स्थगित हुँदै आएको थियो, जसले गर्दा विकासका कामहरू अवरुद्ध भएका थिए र कर्मचारीहरूले चाडपर्वमा पनि तलब पाएका थिएनन् ।




