काठमाडौं । बारा र रौतहटमा अवैध रूपमा ल्याइएको चाँदीसहित तीन जना पक्राउ परेका छन् । बारा प्रहरीले शुक्रबार बिहान जितपुर सिमरा उपमहानगरपालिका २१ अम्लेखगञ्जमा चेकजाँचको क्रममा दुई वटा मोटरसाइकलमा आएका व्यक्तिहरूको साथबाट १४ किलो चाँदी बरामद गरेको हो ।
ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा आएका बारा प्रसौनी गाउँपालिका ६ प्रस्टोकाका ३३ वर्षीय सन्तोष साह सोनारसँग १६ लाख १० हजार ३२५ रुपैयाँ मूल्य बराबरको ९ किलो चाँदी बरामद गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
यस्तै ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा आएका जितपुर सिमरा उपमहानगरपालिका ८ गमरगावा टोलका २७ वर्षीय सुरेश महतोसँग ८ लाख ९४ हजार ६२५ रुपैयाँ मूल्य बराबरको ५ किलो चाँदी फेला परेको हो ।
यसैगरी, रौतहटको गौर नगरपालिका १ स्थित भन्सार कार्यालयअगाडि चेकजाँच गर्दा बीआर ०५ एफ ६६३५ नम्बरको मोटरसाइकलमा भारतको बिहार सितामढीका चन्देश्वर साहलाई ७ किलो १८७ ग्राम चाँदीसहित पक्राउ गरिएको रौतहट प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।
मोटरसाइकलको ट्यांकीमुनि प्लास्टिकको पोकामा लुकाइएको उक्त चाँदीको मूल्य ८ लाख २७ हजार ९२० रुपैयाँ रहेको र साहलाई कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।




