कैलाली । भजनी नगरपालिका ५ लालबोजीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई १ ग्राम ७४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भजनी नगरपालिका २ रजबारा निवासी २२ वर्षीय रूपेश विक र घोडाघोडी नगरपालिका ४ सिमथरीका २१ वर्षीय कुसल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी, घोडाघोडी नगरपालिका १ सुखड बजारबाट शनिबार बिहान अवैध लागूऔषध खैरो हेरोइनसहित २१ वर्षीय प्रशान्त चौधरी पक्राउ परेका छन् । चौधरी घोडाघोडी नगरपालिका २ साडेपानीका स्थानीय हुन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले ४० मिलिग्राम हेरोइनसहित उनलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, शनिबार दिउँसो कैलालीको घोडाघोडी नगरपालिका १ सुखड बजारबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १२३ ट्याब्लेटसहित घोडाघोडी नगरपालिका १ बेलारका २१ वर्षीय आकास शाहीलाई प्रहरीले पक्राउ गरेको छ । शाहीलाई पनि इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।






