काठमाडौं । तनहुँको व्यास नगरपालिका १० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृतक ४७ वर्षीय दिलीप तामाङ नुवाकोटका निवासी हुन् ।
चक्कु प्रहारमा संलग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिइएको छ । प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिएअनुसार, व्यास नगरपालिका १० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले तामाङमाथि चक्कु प्रहार गरेका थिए ।
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, विवादको क्रममा गालीगलौज भएपछि खाना बनाउने समयमा तामाङमाथि थापाले चक्कु प्रहार गरेका थिए ।
उक्त सडक निर्माणमा विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको थियो, जहाँ दुवै मजदुर संलग्न थिए ।






