वीरगञ्ज । वीरगञ्जमा छठ पर्वका लागि पोखरी र नदी घाटलाई विशेष रूपमा सजाइएको छ । महानगरभित्रको दर्जनौँ छठघाटलाई विवाहको तयारीमा सजिएझैँ सुन्दर बनाइएको छ । यहाँका स्थानीयहरूले आफ्ना घर नजिक रहेका पोखरी र छठघाटमा पुगेर पूजा गर्ने परम्परा अनुसार आफ्नो छेउछाउका घाटलाई सफा र आकर्षक बनाइरहेका छन् ।
महानगरका अधिकारीहरूले पनि नियमित रूपमा छठ घाटहरूको निरीक्षण गरिरहेका छन् र पर्वलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न तयारीलाई तीव्र बनाएका छन् । विशेष गरी घडीअर्वा पोखरी, रानीघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवा जस्ता ठाउँहरूमा विशेष सजावट र बत्तीको झिलिमिलीले छठ पर्वको रौनक बढाएको छ ।
यस्तै अन्य स्थानहरूमा पनि स्थानीयहरूले आ(आफ्नो तरिकाले घाटलाई झिलमिल बनाइरहेका छन् । घडीअर्वा पोखरीको सजावट भने विशेष आकर्षणको केन्द्र बनेको छ । यस पोखरीमा नेपालका विभिन्न सहरहरू र सीमावर्ती भारतीय सहरबाट पनि श्रद्धालुहरू आउने गर्छन् ।
पोखरीमा पूजास्थललाई सजाउने कार्य विगत दुई दशकभन्दा लामो समयदेखि चलिरहेको छ, जहाँ सुरक्षा र सरसफाइलाई विशेष ध्यान दिइन्छ । बत्ती र पण्डाल व्यवस्थापनलाई आकर्षक बनाइराख्ने काम गरिन्छ, जसले पूजा अवलोकनमा आउने मानिसहरूलाई मनमोहक अनुभव दिलाउँछ ।
तराई(मधेशका महिलाहरूले परिवारको सुख समृद्धिको कामना गर्दै यो पर्व मनाउँछन् । यस वर्ष मुख्य छठ पूजाको दिन कात्तिक २२ गते परेको छ, जसले गर्दा वातावरणमा उत्सवको माहोल थपिएको छ ।
सरसफाइ उपसमितिले पनि पोखरीलाई स्वच्छ राख्न सक्रियता बढाएको छ । महानगरले डेंगु नियन्त्रणका लागि पोखरी वरपर सरसफाइ अभियान सञ्चालन गरेर थप सुरक्षाका कदमहरू चालेको छ ।




