बैतडी । बैतडीमा ग्याँस सिलिन्डर लिक भएर लागेको आगलागीबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । सिगास गाउँपालिका ९ चौखामका ४० वर्षीय सुरेन्द्र धामी सिलिन्डर मर्मत गर्ने क्रममा आगोले गम्भीर घाइते भएका हुन् ।
वडाध्यक्ष कृष्ण सिंह धामीका अनुसार, स्थानीय शिक्षक सलिभान धामीको घरमा सिलिन्डर मर्मत गर्दा ग्याँस लिक भएर आगो लागेको थियो । आगलागीबाट सुरेन्द्रको अनुहारसहित शरीरका अन्य भागमा समेत चोट पुगेको छ ।
घटनामा सलिभान धामीकी श्रीमती ३८ वर्षीय धनमती धामी पनि सामान्य घाइते भएकी छन्, र उपचारपछि देउलेक स्वास्थ्य केन्द्रबाट घर फर्किएकी छन् । सुरेन्द्रलाई गम्भीर अवस्थामा देखेर थप उपचारका लागि डडेलधुरा अस्पतालले काठमाडौं रेफर गरेको छ ।




