स्याङ्जा । काटेर खेतमै सुकाउन राखिएको धानको पाँजा बेमौसमी वर्षाले भिजेपछि स्याङ्जाका कृषकहरू चिन्तित बनेका छन् । सोमबार अपराह्न परेको असामयिक झरीले भित्र्याउने तयारीमा रहेको धानलाई क्षति पुर्याएको हो ।
खेतमै राखेको काटेको धान भिजेको मात्र होइन, काट्न बाँकी रहेको धानसमेत झरीले झारिदिएको छ । अघिल्लो केही दिनदेखि मौसम खुल्दैन कि भनेर डराइ–डराइ धान काटिरहेका कृषकहरू झरीले निराश बनेका छन् । वर्ष दिनभरि खाने धान भिजेपछि किसानहरूको चिन्ता थपिएको छ ।
वालिङ क्षेत्रका कृषकहरूको खेतमा सुकाउन राखेको धान पूर्ण रूपमा रुझेको छ । वर्षभरि खाने धान नष्ट हुने चिन्तामा रहेको बताउँदै, एक किसानले भने, ‘पाँच दिनअघि काटेर राखेको धान घर लैजाने तयारीमा थिएँ, तर झरीले सबै रुझायो । अब न धान राम्रो हुने भयो, न त पराल नै ।’
स्याङ्जा जिल्लाका धेरै कृषक अहिले यसै प्रकारको समस्यामा परेका छन् । तिहारको तयारी गर्दै धान भित्र्याउने योजनामा रहेका कृषकलाई बेमौसमी वर्षाले ठूलो चिन्ता थपिदिएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार, एक रातको बेमौसमी वर्षाले धेरै क्षेत्रको काटेको धानलाई क्षति पुर्याएको छ । सोमबारको झरीले यस वर्षको धानको गुणस्तरमा पनि ह्रास आउने सम्भावना रहेको छ ।
कति क्षति भएको छ भन्ने विवरण भने अझै सङ्कलन गर्न बाँकी छ । अनुमान अनुसार स्याङ्जाका झन्डै ६० प्रतिशत कृषकले धान बाली भित्र्याइसकेका छन् । स्याङ्जाका ११ वटै पालिकामा यो वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो ।
आँधी खोला, काली गण्डकी नदी किनार, ज्याग्दी खोला, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेती दोभान, बिरुवा फाँटजस्ता उर्वर क्षेत्रहरूमा धान खेती गरिन्छ । यहाँ सावित्री, मन्सुरी, रामधान, हाईब्रिड तथा उन्नत जातका साथै केही स्थानमा स्थानीय जातका धान पनि रोप्ने गरिन्छ ।






