सर्लाही । सर्लाहीमा अवैध हतियार र नक्कली नोटसहित दुई भारतीय युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गर्दा अवैध हतियार र नक्कली नोट फेला परेको थियो ।
गोडैता नगरपालिका १२ मा पक्राउ गरिएका व्यक्ति भारतको बिहार राज्य सीतामढी जिल्लाको मेजरगंज थाना बसबिटाग्राम पञ्चायत रसुलपुर निवासी २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल हुन् ।
प्रहरीले उनीहरूबाट नलकटुवा पेस्तोल १ थान, के एफ ८ एमएमका ६ राउण्ड गोली, के एफ ९ एमएमका ४ राउण्ड गोली र एक हजार दरका नक्कली नेपाली नोटका १० ब्यान्डल बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।




