रौतहट । करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको रौतहटको एक पार्क संरक्षणको अभावमा झाडीले ढाकिँदै जीर्ण बन्दै गएको छ । उक्त पार्कलाई पर्यटक आकर्षित गरी पर्यटन विकास गर्ने लक्ष्य राखिएको थियो, तर अहिले त्यहाँको अवस्था लक्ष्यबाट धेरै पर छ । करिव १४ रोपनीमा फैलिएको पार्क अहिले झाडीले ढाकिएको र फोहोरले भरिएको छ, जसका कारण पर्यटकको आवागमन न्युन छ ।
पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको यो पार्क पिकनिक र घुम्नका लागि मात्र नभई यात्रुहरूलाई केही समय सुस्ताउन सघाउने गन्तव्य पनि बन्न सक्थ्यो । यस बाहेक, स्थानीयहरूलाई मर्निङ वाक, बालबालिकालाई खेल्न, हरियालीमा समय बिताउन पनि महत्त्वपूर्ण स्थान बन्न सक्ने थियो । तर, पार्कमा जताजतै घाँस र फोहोर भएपछि स्थानीयहरूको पनि त्यहाँ जान रुचि घटेको छ ।
स्थानीयहरूले यस पार्कको संरक्षण र प्रवर्धनका लागि निरन्तर आवाज उठाइरहे पनि सम्बन्धित निकाय मौन रहेको बताउँछन् । पार्कमा शहीद स्तम्भ, चार पोखरी, बाल उद्यान, चौताराजस्ता संरचनाहरू रहेका छन् । तर, पोखरीहरू अहिले झाडीले पुरिएका छन् । पोखरीलाई सफा गरी माछापालन र डुङ्गा सञ्चालन गर्न सके पर्यटकको आकर्षण बढ्न सक्ने स्थानीयहरूको भनाइ छ ।
कोरोना महामारीका बेला पार्कभित्रका संरचनालाई आइसोलेसन केन्द्रका रूपमा प्रयोग गरिएको थियो । हालसम्म राज्यका विभिन्न निकायको के कति लगानी भएको छ भन्ने स्पष्ट तथ्यांक पनि कसैसँग छैन । केही व्यक्ति वा समूहले पार्क देखाएर बजेट ल्याउने र दुरुपयोग गर्ने माध्यम बनाएको स्थानीयहरूको आरोप छ ।
अर्कोतर्फ, स्थानीय सरकारले स्वामित्व विवादका कारण इच्छाए पनि कुनै सुधारको काम गर्न नसकेको बताएको छ । शहरीकरणसँगै आसपासको क्षेत्रमा खुला हरियाली स्थानको अभाव हुँदै गएकाले राज्यले लगानी गरेको यो पार्कलाई व्यवस्थित बनाएर पर्यटन र खुला स्थलको उत्तम विकल्पका रूपमा विकास गर्न सरोकारवालाहरूको ध्यान जानु आवश्यक देखिन्छ ।




