सर्लाही । सर्लाही जिल्लाका दुई स्थानमा अवैध लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पहिलो घटना इश्वरपुर नगरपालिका १२ स्थित फुलजोर-डोमखोरिया सडकखण्डको जंगल एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ब्रहम्पुरी गाउँपालिका ५ बस्ने २२ वर्षीय अबिनाश कापर र २७ वर्षीय बिक्रम कापर रहेका छन् । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिनजोर घारिबथानबाट खटिएको प्रहरीले बिआर ३० एजी ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी दोस्रो घटना सर्लाही बरहथवा नगरपालिका १६ गंगापुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरीहरपुर गढी गाउँपालिका ८ पांचतले बस्ने २९ वर्षीय वाङ दोर्जे थिङ र हरीवन नगरपालिका ४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीले बा प्र ०२-०२१ प २४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






