सुर्खेत । सुर्खेतको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरका पुजारी मृत अवस्थामा फेला परेका छन् । मन्दिरको मुख्य ढोकामा पुजारीको शव शंकास्पद स्थितिमा भेटिएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
देउती बज्यै मन्दिर, सुर्खेतको धार्मिक आस्थाको प्रतीक र ऐतिहासिक महत्वको स्थल हो । यहाँ दैनिक रूपमा भक्तजनहरूको भीड लाग्ने गर्छ, र मन्दिरका पुजारीहरू परम्परागत रूपमा पूजा अर्चनाका कार्यमा संलग्न रहँदै आएका छन् ।
तर, आज बिहान मन्दिरको मुख्य प्रवेशद्वारमा पुजारीको शव फेला परेपछि घटनाले सबैलाई स्तब्ध बनाएको छ । प्रहरीका अनुसार शवको अवस्थालाई हेर्दा घटना शंकास्पद देखिएको छ ।
हाल मन्दिरमा सबै प्रकारका पूजा गतिविधि रोकिएको छ र श्रद्धालुहरूलाई घटनाको बारेमा जानकारी दिइँदैछ । घटनास्थलमा पुगेको प्रहरी टोलीले मन्दिर परिसरमा विभिन्न कोणबाट अनुसन्धान थालेको बताइएको छ ।
यस विषयमा थप विवरण आउन बाँकी रहेको र अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक पुजारीको पहिचान र मृत्युको कारण खुलाउन पोस्टमार्टम रिपोर्टको प्रतिक्षा गरिँदैछ भने स्थानीय समुदायमा घटनाप्रति चासो र चर्को चर्चा सुरु भएको छ ।
देउती बज्यै मन्दिरमा भएको यस अप्रत्याशित घटनाले श्रद्धालुहरूमा चिन्ता बढाएको छ र मन्दिर परिसरमा शान्ति सुरक्षाको माग उठ्न थालेको छ ।






