तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका ५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई बस एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।
दुर्घटनामा परी तनहुँ रेसिङ पाटन घर भई हाल कास्कीमा बसोबास गर्दै आएका ३९ वर्षीय बस चालक रामबहादुर परियारको मृत्यु भएको हो ।
गण्डकी प्रदेशको जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस ठोक्किँदा ३० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । दुर्घटनामा परेका बसमा च्यापिएका यात्रुहरूको उद्धार मुग्लिन-पोखरा सडक योजनाको डोजरको मद्दतमा गरिएको थियो ।
घाइतेहरूको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






