रौतहट । रौतहटमा शिक्षक सरुवाको विषयलाई लिएर विवाद चुलिँदै गएपछि फेरि आक्रमण प्रयास भएको छ । आइतबार साँझ गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालमाथि केही व्यक्तिहरूले आक्रमणको प्रयास गरेका छन् ।
मेयर जैसवालको घरमा १०/१२ जनाको समूह गइ विवाद गर्दै आक्रमण प्रयास गरेको बताइएको छ । आक्रोशित भीडले घर बाहिर गालीगलौज गर्दै असभ्य व्यवहार प्रदर्शन गरेका थिए । प्रतिवाद गर्ने क्रममा मेयरका छोरा शैलेस जैसवाललाई समेत धक्कामुक्की गरिएको छ ।
नगर शिक्षा समितिको बैठकले गत शुक्रबार ६ जना शिक्षकहरूको सरुवा गर्ने निर्णय गरेको थियो । यसैमा गरुडा माविका एक शिक्षकको सरुवा भएको विषयमा स्थानीय केही व्यक्तिहरू आक्रोशित भएको बुझिएको छ । मेयर जैसवालविरुद्ध असन्तोष फैलाउन केही राजनीतिक दलका नेताहरू र अन्य शिक्षकहरूले उक्साएको मेयरका छोराले आरोप लगाएका छन् ।
आक्रमण प्रयासमा संलग्न रहेको आरोपमा गरुडा ४ का रामएकवाल पटेल, विरेन्द्र पटेल, दिलिप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादवलाई पहिचान गरिएको छ । उनीहरू विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दर्ता गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनामा कुनै शारीरिक आक्रमण नभएको र केवल सामान्य भनाभन भएको बताउँदै अनुसन्धान जारी रहेको जनाएका छन् ।
यसअघि पनि शिक्षक सरुवाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको घर र नगरपालिकाको भवनमा आक्रमण हुँदा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । उक्त घटनामा प्रहरीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । शिक्षक सरुवाको विषयले रौतहटमा निरन्तर रूपमा तनाव सिर्जना गर्दै आएको देखिन्छ ।




