काठमाडौं । काेभिड १९ संक्रमणका कारण राेकिएकाे कक्षा १२ काे परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले साे निर्णय गरेकाे हाे । परीक्षा भदाै ९ गतेसम्म सञ्चालन हुनेछ ।
विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने परीक्षा उपनियन्त्रक सुवास पन्तले बताए । परीक्षा सय पूर्णांककै हुनेछ ।
गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।
अघिल्लाे वर्ष बाेर्डले कक्षा १२ काे परीक्षा ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।






