सर्लाही । सर्लाहीका विभिन्न बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ । यस वर्ष असोज दोस्रो साता परेको भारी वर्षाका कारण गोलभेँडाको उत्पादन ढिलो सुरू भएको हो ।
अविरल वर्षाले बोट नष्ट भएपनि जोगाउन सफल किसानले अहिले बजारमा गोलभेँडा बेच्न थालेका छन् । प्रारम्भिक सिजन भएकाले बजारमा थोरै परिमाणमा मात्रै गोलभेँडा आइरहेकाले किसानले राम्रो मूल्य पाइरहेका छन् ।
लालबन्दी थोक तरकारी बजारमा गोलभेँडा प्रतिकेजी ७२ रुपैयाँदेखि ९६ रुपैयाँसम्म बिक्री भइरहेको छ, भने उपभोक्ताले खुद्रामा प्रतिकेजी १५० रुपैयाँसम्म तिर्नुपरेको छ । स्थानीय उत्पादनले बजार नपुगेसम्म मूल्य स्थिर रहने खुद्रा व्यापारीले बताएका छन् ।
सर्लाहीका ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकामा व्यावसायिक रूपमा गोलभेँडा खेती हुँदै आएको छ । भारी वर्षाका कारण बेर्ना सार्न ढिलो हुँदा उत्पादन बजारमा पुग्न समय लागेको किसानहरूको भनाइ छ ।
हाल बजारमा दैनिक करिब २०० क्रेट गोलभेँडा आइरहेको छ । थोरै परिमाण काठमाडौं पठाइए पनि अधिकांश गोलभेँडा स्थानीय हाट बजारमै खपत भइरहेको व्यापारीहरूले जनाएका छन् । केही साताभित्र गोलभेँडाको परिमाण वृद्धि हुने अनुमान गरिएको छ, जसका कारण मूल्यमा कमी आउन सक्नेछ ।




