वीरगंज । पर्सामा अपहरण र फिरौती सम्बन्धी घटनामा संलग्न दुई जना पक्राउ परेका छन्, जसमा एक जना पत्रकार समेत छन् । रौतहटको कटहरिया नगरपालिका ६ का ४१ वर्षीय शेख सा महमदलाई फिरौती रकम लिने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका १६ ईनर्वागाउँका ३० वर्षीय सन्तोष दास तत्मा र सोही वडाका ३१ वर्षीय हरिशंकर शर्मा पक्राउ परेका हुन् । शर्मा पेशाले पत्रकार रहेका छन् ।
प्रहरीले आइतबार फिरौती स्वरूप ५० हजार रुपैयाँ लिँदै गर्दा उनीहरूलाई ईनर्वागाउँबाट नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जना माथि अपहरण र शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।
पक्राउ परेका सन्तोष दास तत्मा र शेख सा महमद यसअघि जेल जीवन बिताएका थिए । प्रहरीका अनुसार उनीहरू बीचको चिनजान जेलमै भएको हो, जहाँ दास नाइके र महमद भाइ नाइकेका रूपमा रहेका थिए । जेलबाट छुटेपछि पनि उनीहरूको पुरानो लेनदेन विवाद कायम रहेको खुलेको छ ।
शेख सा केही दिनअघि सामान किन्न भारत गएको बेला अपहरणकारीहरूले उनलाई पछ्याएर केही घण्टा बन्धक बनाएका थिए । त्यसक्रममा उनले चेक दिएर मोटरसाइकल र साथीसहित आफू नेपाल फर्किएका थिए । तर, चेक अस्वीकृत भएपछि अपहरणकारीहरूले नगद फिरौती माग गरेका थिए ।
शेखलाई पाँच लाख रुपैयाँ फिरौती माग गरेपनि अन्ततः ५० हजारमा सम्झौता भएको थियो । पीडितले प्रहरीलाई घटना बारे जानकारी दिएपछि प्रहरी टोलीले फिरौती बुझ्न तोकिएको ठाउँमा पुगेर अपहरणकारीहरूलाई पक्राउ गरेको हो । घटनामा प्रयोग भएका दुई वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए ।




