वीरगंज । बहुदरमाई नगरपालिकाका कर्मचारीहरूले अझै तलब पाएका छैनन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको तलब नपाउँदा कर्मचारीहरू निराश भएका छन् । दशैं, तिहार, छठजस्ता पर्वहरू बितिसक्दा पनि तलब नपाएपछि उनीहरू असन्तुष्ट छन् ।
नगरसभाको निर्णय प्रमाणित गरी सिफारिश नगर्दा नगरपालिकाको खाता सञ्चालनमा आउन नसकेको बताइएको छ । नगरपरिषद् कात्तिक ८ गते सम्पन्न भएपनि सिफारिश नगरेका कारण खाता सञ्चालनमा आउन सकेको छैन ।
नगरपालिकाको खाता सञ्चालनका लागि आवश्यक सिफारिश प्रक्रिया पूरा नभएकोले कर्मचारीहरूलाई तलब दिन नसकिएको हो । अहिले पर्सा जिल्लामा बहुदरमाई नगरपालिकाको मात्र खाता सञ्चालनमा छैन ।
यसैबीच, नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबीच विवाद चुलिएको छ । वडास्तरीय बजेटको बाँडफाँडको विषयमा असहमति रहेको र प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखबीच पनि मनमुटाव भएको छ । यसले गर्दा आर्थिक कारोबार ठप्प भएको छ ।
तलब नपाउँदा कार्यालय सञ्चालनमा समेत समस्या परेको छ । सामाजिक सुरक्षा भत्ताबाहेक कर्मचारी, करार, दैनिक ज्यालादारी, शिक्षकमगि ५०० जनाको तलब रोकिएको छ ।
यसैबीच, नेपाल विद्यार्थी सङ्घ पर्साले शिक्षकहरूको तलब नपाएको कारण विद्यालयहरू बन्द भएको बताउँदै तत्काल समस्या समाधान गरी शैक्षिक गतिविधि सञ्चालनमा ल्याउन आग्रह गरेको छ । संघले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।




