सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवा नगरपालिका २ स्थित गोरखकाली प्रहरी चौकी नजिकैको झन्डा बजार जाने सडकको नालामा शुक्रबार नवजात शिशुको शव फेला परेको छ ।
उक्त बाटो भएर जाने पैदलयात्रुहरूले नालामा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । स्थानीयले शंका व्यक्त गरेका छन् कि मलङ्गवामा सञ्चालनमा रहेका कुनै अल्ट्रासाउन्ड क्लिनिकमा गर्भपात गराएर शिशुको शव त्यहाँ फालिएको हुन सक्छ ।
केही दिनअघि जिल्ला प्रशासन कार्यालय सर्लाही र मलङ्गवा नगरपालिकाको स्वास्थ्य शाखाले अवैधरूपमा सञ्चालन भइरहेका अल्ट्रासाउन्ड क्लिनिकहरूको अनुगमन गरी केही क्लिनिकहरू सिल गरेको थियो ।




