धनुषा । मधेस प्रदेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहटका ७ वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ, जसको मतगणना आइतबार राति नै सकियो । यो निर्वाचनमा नेपाली कांग्रेस दुई वडामा खुम्चिएको छ भने जसपा र नेकपा एकीकृत समाजवादीले आफ्नो स्थान सुदृढ बनाएका छन् ।
एमाले र माओवादीले एक एक सिट जोगाउन सफल भएपनि पहिले जितेका वडामा हार व्यहोर्नुपर्यो । सिके राउतको जनमत पार्टी प्रतिको आकर्षण यस पटक घटेको देखिएको छ ।
राउतको गृहजिल्लामा समेत उपेन्द्र यादव नेतृत्वको जसपाले कांग्रेसका दुई वडाध्यक्ष पद खोसेर आफ्नो पकड बनाएको छ । धनुषा, महोत्तरी र रौतहटमा पनि जनमतको प्रभाव कम देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी मधेसमा खासै सुधार गर्न नसकेको बेला एमाले र माओवादीजस्ता वाम दलहरूको विभाजनले कांग्रेसलाई फाइदा पुर्याएको देखियो । एमाले विभाजनको असर विशेषत: रौतहटमा स्पष्ट देखिएको छ ।




