रौतहट । सर्लाहीको मानवसेवा आश्रममा रहेका बुवाआमाको निम्ति केदर प्रसाद तिमल्सिना न्यानो अभियानले टोपी र ब्लाङ्केट सहयोग गरेको छ । उक्त सहयोगसँगै सर्लाही र आसपासका विभिन्न विपन्न समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं. २ हिले खोलाको सुकुम्बासी बस्तीमा ११ परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । सो स्थानमा पुग्न तीन घण्टा पैदल मार्फत लाग्छ भने अटोमा यात्रा गर्न दुई सय रुपैयाँभन्दा बढी भाडा लाग्छ ।
अभियानमा सहयोग जुटाउन स्थानीय व्यक्तिहरूले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यस अभियान अन्तर्गत फतुवाबिजयपुर नगरपालिका वडा नं. ३ मेवा, वडा नं. ४ टेङ्राहा र वडा नं. ६ पेट्भर्वाका विपन्न नागरिकलाई पनि न्यानो कपडा वितरण गरिएको छ ।
यो अभियानका लागि डा. सलुजा (लगनखेल निवासी) र आशिक आवारा समूहको विशेष योगदान रहेको छ । यसैगरी, अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रमुख व्यक्ति केदर प्रसाद तिमल्सिना, रोमन तिमल्सिना, गीता तिमल्सिना, संकर श्रेष्ठ, देवी सापकोटा र लक्ष्मण न्यौपाने लगायत सबैप्रति धन्यवाद व्यक्त गरिएको छ ।
मानवसेवा आश्रमका प्रतिनिधिहरू सिताराम पोखरेल र चुडामणि वाग्लेको समन्वयमा सहयोग सामग्री वितरण गरिएको हो । अभियानको यातायात व्यवस्थापनमा संकर श्रेष्ठले सहजीकरण गरेका थिए ।
यस अभियानले समुदायमा मानवसेवाको भावना थप बलियो बनाएको छ । ‘जय मानवसेवा, जय मानवता ! को नाराका साथ न्यानो अभियानले समाजमा गरिरहेको सकारात्मक योगदानले धेरैको मन जितेको छ ।




