वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले यो अवधिका लागि कार्यालयलाई रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य तोकेको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा परेकाले लक्ष्य हासिल गर्न चुनौती भएको बताइएको छ । वीरगञ्ज भन्सार कार्यालयले कुल राजस्वको ७० प्रतिशत पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, र सवारी साधन आयातबाट सङ्कलन गर्दै आएको छ ।
कार्यालयले साउनमा रु १२ अर्ब १६ करोड, भदौमा रु १३ अर्ब २३ करोड, असोजमा रु १३ अर्ब ४७ करोड र कात्तिकमा रु ११ अर्ब चार करोड राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षको यही अवधिमा कार्यालयले रु ४९ अर्ब १८ करोड ३२ लाख ४३ हजार राजस्व सङ्कलन गरेको थियो ।




