गोरखा । सुलिकोट गाउँपालिका १ बारपाककी १८ वर्षीया सूचना घलेको शव मंगलबार बारपाकस्थित मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकका अनुसार शनिबार घाँस काट्न गएकी घलेको शव कर्तव्य गरी मारेर खाल्डोभित्र पुरिएको देखिन्छ ।
शवको टाउकोमा गहिरो चोट, दाहिने हातका दुई औंला छिनालिएको र वरपर रगतका टाटा तथा कपाल छरिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा घाँस काट्न प्रयोग भएको डोको पनि शवसँगै खाल्डोमा गाडिएको थियो भने अर्को डोको घाँससहित नजिकै भेटिएको छ । घटनाको प्रकृति हेर्दा हत्या नै भएको प्रहरीको निष्कर्ष छ ।
गम्भीर प्रकृतिको घटनाको छानबिनका लागि डीएसपी इन्द्रप्रसाद सुवेदीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ । धार्चे गाउँपालिका ६ काशीगाउँ माइती भएकी सूचना घले वैशाखमा विवाह गरी बारपाक गएकी थिइन् ।
घटनापछि सिंगो बारपाक र माइती काशीगाउँ शोकमा डुबेका छन् । माइती पक्ष र स्थानीयले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले अमानवीय र क्रूर तवरले हत्या भएको भन्दै दोषीलाई चाँडो पत्ता लगाई कानुनी दायरामा ल्याउन आग्रह गरेकी छिन् ।






