बारा । बाराबाट ६० किलो चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले सोनारले चलाएको प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटर जाँच गर्दा स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई लुकाइएको अवस्थामा ६० किलो चाँदी फेला पारेको थियो ।
बरामद चाँदीको बजार मूल्य करिब एक करोड दुई लाख रुपैयाँ बराबर रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । चाँदीसहित सोनारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




