साथीहरुसँगको चन्द्रागिरि यात्रा साँच्चै अविस्मरणीय बन्यो । हाम्रो व्यस्त जीवनलाई केही समयका लागि विश्राम दिने र प्रकृतिसँग जोडिने यो एउटा अवसर थियो । शनिबारको दिन बिहानै हामी सबै साथीहरू जम्मा भयौं, उत्साह र उमङ्गले भरिँदै । काठमाडौंको धूलो, भीडभाड र कोलाहलबाट टाढा हरियाली र शान्तिको खोजीमा हाम्रो गन्तव्य बन्यो चन्द्रागिरि ।
हामी बिहानै उठ्यौं र चन्द्रगिरि तर्फ कोहि मोटरसाइकलमा त कोहि स्कुटर चढेर प्रस्थान गयौं । यात्रा छोटो भएपनि रमाइलो गफगाफ र चियासँगको साथले एकदमै आनन्ददायी भयो । चन्द्रगिरि स्थित केबलकार स्टेसनमा पुग्दा, हामी सबै जना अझै उत्साहित भयौं । केबलकार चढ्ने क्रम सुरु भयो, र हामीले उचाइबाट देखिने सुन्दर दृश्यको आनन्द लिन थाल्यौं । अग्ला पहाड, घना जंगल र तल देखिने काठमाडौं उपत्यकाको मनमोहक दृश्यले हाम्रो यात्रा अझै रोचक बनायो ।
केबलकारबाट चन्द्रागिरि हिल्समा पुग्ने बित्तिकै हाम्रो स्वागत ठण्डा हावाले गर्यो । त्यहाँको चिसो मौसम र शान्त वातावरणले हामीलाई शारीरिक र मानसिक रूपमा तरोताजा बनायो । वरपरको हिमालको दृश्य साँच्चै अद्भुत थियो । त्यसबेला हामी सबै साथीहरू एकछिन स्तब्ध भयौं, प्रकृतिले दिएका ती अनुपम उपहारलाई निहारेर ।
त्यसपछि हामीले वरपर घुम्दै त्यहाँको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको भालेश्वर मन्दिरको दर्शन गयौं । मन्दिरमा दर्शन गरेपछि मनमा एक किसिमको शान्ति र सन्तुष्टि महसुस भयो । उपत्यकाको हरियालीदेखि सुदूर हिमालसम्म देखिन्थ्यो, र त्यो अनुभवलाई शब्दमा वर्णन गर्न गाह्रो छ ।
घुम्दै र फोटो खिच्दै हामी थाकिसकेका थियौं । त्यसपछि त्यहाँकै एउटा रेस्टुरेन्टमा गएर खाना खायौं । चिसो मौसममा तातो चिया र स्थानीय परिकारहरूको स्वादले हाम्रो थकानलाई तुरुन्तै मेटायो । गफगाफको माहोलले हामीलाई झन् नजिक बनायो ।
त्यसपछि हामीले केही समय प्रकृतिको काखमा बितायौं । साथीहरूसँगका रमाइला क्षणहरू, ठट्टा र हाँसोले समय कसरी बित्यो, थाहै भएन । समूहमा फोटो खिच्दै, रमाइलो क्षणलाई सम्झनामा राख्न हामी सबै व्यस्त थियौं । केबलकारको अन्तिम यात्रा मिस नगरौं भनेर साँझपख फर्कने तयारी गयौं ।
फर्कने बेला पनि उस्तै रमाइलो रह्यो । हामीले तल झर्दै गर्दा फेरि एक पटक काठमाडौंको सुन्दर दृश्यलाई आँखाभरि कैद गयौं । हरेकजसो साथीले यो यात्रालाई आफूले बोक्ने सबैभन्दा प्रिय सम्झनामा राख्ने कुरा बताए ।
चन्द्रागिरिको यो यात्रा हाम्रो जीवनमा एउटा खुसीले भरिएको अध्याय बन्यो । साथीहरूसँगको आत्मीयता, प्राकृतिक सुन्दरताको अनुभव र धार्मिक स्थलहरूको दर्शनले हाम्रो मन प्रफुल्लित बनायो । केही घण्टाको यात्रा भएपनि यो हाम्रो मित्रताको स्मरणीय हिस्सा बन्न पुग्यो । चन्द्रागिरिले हामीलाई न केवल मनोरञ्जन दियो, बरु प्रकृतिको महत्व र मित्रताको मर्म पनि सिकायो । हामी सबैले प्रतिज्ञा गयौं, भविष्यमा यस्तै रमाइला यात्राहरूको योजना बनाउनका लागि ।




