रौतहट । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका ४ मा भएको स्कार्पियो दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकमध्ये ७ जना सिराहा अर्नमा गाउँपालिका ३, बन्ठिया टोलका स्थानीय हुन् भने अर्का मृतक सोही गाउँपालिका ५ का स्कार्पियो चालक रहेका छन् ।
मृतकहरूको शव पोस्टमार्टमका लागि चपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनामा घाइते पाँच जनामध्ये चार जनाको चन्द्रपुरको हाईवे ट्रमा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरूमा ३० वर्षीया राधा राम, दुई वर्षीय आर्यन राम, २५ वर्षीया देवकुमारी महरा र सात वर्षीय रितिक महरा रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीया कन्या देवी महरालाई थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा रेफर गरिएको छ ।
प्रहरीका अनुसार बा १६ च ३१६२ नम्बरको स्कार्पियो बाराको निजगढबाट सिराहा जाँदै गर्दा मंगलबार राति सवा एक बजे आफैं अनियन्त्रित भई रुखमा ठोक्किँएको थियो ।
दुर्घटनापछि स्कार्पियोलाई ट्राफिक प्रहरी कार्यालय चपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




