सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका ६ सिमरामा एक छोराले आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ३२ वर्षीय भगलु मण्डललाई उनकी आमा, ६५ वर्षीया फुलकुमारी देवीको हत्या आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा भगलुले आमालाई कुटपिट गर्दा फुलकुमारी गम्भीर घाइते भएकी थिइन् । घटना बारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको टोलीले भगलुलाई नियन्त्रणमा लिएको हो ।
गम्भीर अवस्थामा रहेकी फुलकुमारीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर, थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




