बारा । बारा जिल्लाको महागढीमाई नगरपालिका १ स्थित गढीमाई मन्दिरमा जारी पञ्चवर्षीय मेलाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न करिब ५०० सशस्त्र प्रहरी २४ सै घण्टा खटिएका छन् । मङ्सिर १ गतेदेखि सुरु भएको यो मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ ।
मेलालाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलको नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन गरिएको छ । त्यस्तै, मेला अवधिभर सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको नेतृत्वमा मेला स्थलमा कमान्ड पोस्ट स्थापना गरिएको छ ।
मेला सुरक्षामा थप सुदृढता ल्याउन दुई वटा तालिमप्राप्त कुकुर (डग) परिचालन गरिएको छ । भिड व्यवस्थापन र निगरानीका लागि ड्रोनको प्रयोग गरिँदैछ । मेलास्थल नजिक रहेको पोखरीमा अप्रिय घटना हुन नदिन विपद् व्यवस्थापन तालिमप्राप्त टोली रबर बोटसहित २४ सै घण्टा तैनाथ छ ।
भक्तजनहरूको ठूलो सहभागिता हुने अपेक्षा गरिएको यो मेलामा सशस्त्र प्रहरी बलले सुरक्षा योजना अनुसार उच्च सतर्कता अपनाउँदै मेला अवधिभर सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने जनाएको छ ।




