जनकपुरधाम । मधेस प्रदेश सरकारले झण्डै एक करोड रुपैयाँ खर्च गरेर जनकपुरधाममा जडान गरेका ट्राफिक लाइटहरू हाल प्रयोगविहीन भएका छन् । ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न स्थानमा जडान गरिएका लाइटहरू ‘सो पिस’मा सीमित भएका छन् ।
०७९/८० मा प्रदेश सरकारले प्रहरी कार्यालयसँग समन्वय गरेर जनकपुरधामको मुरली चोक, शुक्रबारी बजार, जनक चोक, शिव चोक र भानु चोक लगायतका स्थानमा ९८ लाख रुपैयाँ बराबरको ट्राफिक लाइट जडान गरेको थियो । तर जडान गरिएका अधिकांश लाइट हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।
मुरली चोक र भानु चोकमा जडान गरिएका केही लाइट केही समय बल्ने प्रयास गरेपनि अन्य स्थानका लाइट प्रयोगमा नआएको स्थानीयहरूले बताए । आवश्यकता नहुने स्थानहरूमा समेत लाइट जडान गरिएकाले त्यसको कुनै उपयोगिता देखिएको छैन ।
शुक्रबारी बजारको एक स्थानमा ट्राफिक लाइट जडान गरिएपनि त्यसले कुनै प्रभावकारी भूमिका खेलेको छैन । स्थानीय व्यापारीहरूका अनुसार जडान गरिएका लाइटहरू कहिल्यै बलेको नदेखिएको र आवश्यकताका आधारमा स्थान निर्धारण नगर्दा समस्या उत्पन्न भएको बताउँछन् ।
सुरुमा जडान गरिएका लाइटहरू सञ्चालनमा ल्याउन प्रयास गरिएपनि अहिले ती लाइट पूर्ण रूपमा बन्द छन् । यता, ट्राफिक कार्यालयले वर्षा याममा पानी परेर लाइट बिग्रिएको बताउँदै मर्मतपछि पुनः सञ्चालनमा ल्याइने जनाएको छ ।




