रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ बन्जरहामा शनिबार बिहान भीषण आगलागी हुँदा दुई वटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागी फगुनी सहनी र मनोज सहनीको गोठमा भएको थियो, जसबाट करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
आगलागीका क्रममा फगुनी सहनीकी बुहारी, ४५ वर्षीया रञ्जु देवी सहनी घाइते भएकी छन् । उनलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिन सफल भएपनि आगलागीको कारण अझै खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस घटनाले स्थानीयहरूमा त्रास फैलाएको छ । पीडित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोगका लागि स्थानीय प्रशासनले पहल गर्ने जनाइएको छ ।






