सिराहा । नवराजपुर गाउँपालिका १ ढेकहा बस्ने ६५ वर्षीय राबिया यादवको घरमा शुक्रबार साँझ करेन्ट सर्ट भएर आगो लागेको थियो । आगो फैलिँदा सोही ठाउँका चन्द्रेश्वर यादव, बद्री साह, सोनेलाल साह र बिनोद यादवका घरहरूमा पनि आगलागी भयो ।
यस घटनामा पाँच घरहरू पूर्ण रूपमा जलेर करिब ३९ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीको खबर पाएपछि प्रहरी र स्थानीय बासिन्दाले मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
सो घटनामा कुनै मानवीय क्षति भने नभएको र सबै घरका सदस्य सुरक्षित रहेका जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र आगलागीको कारण र यसमा संलग्नको पहिचान गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।






