बारा । बाराको महागढीमाई नगरपालिका २ बरियारपुरमा मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेला आइतबार औपचारिक रूपमा समापन हुँदैछ । पाँच वर्षको अन्तरालमा आयोजना हुने यस धार्मिक मेलाले पशुपक्षी बलिका लागि ख्याति कमाएको छ ।
यस वर्षको मेलामा हजारौं राँगा र बोकाको बलि दिइएको थियो । मंसिर २१ देखि २५ सम्म विशेष बलि कार्यक्रम आयोजना गरिएको थियो । बलि कार्यक्रमका क्रममा महागढीमाई नगरपालिकाले पाँच दिनसम्म नगरभित्र सार्वजनिक बिदा दिएको थियो ।
दर्शनार्थीहरूको सुविधाका लागि मेलास्थलमा बिजुली बत्ती, सीसी क्यामरा, सार्वजनिक शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटीएम, वाईफाई सेवा, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, वारुणयन्त्र र भोजनको व्यवस्था गरिएको थियो ।
मेलाको अन्तिम दिन थप भिडभाड देखिएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष तथा महागढीमाई नगरप्रमुख उपेन्द्रप्रसाद यादवले दर्शनार्थीहरूको ठूलो संख्याले मेलामा सहभागी भएर धार्मिक वातावरणलाई भव्य बनाएको बताएका छन् ।




