गोलबजार । सुखिपुर नगरपालिका ३ सलमपुरमा ग्यास चुहावटका कारण आगलागी हुँदा करिब रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति ग्यास सिलिन्डर विस्फोट भएर भएको आगलागीले किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित ठूलो क्षति भएको हो ।
स्थानीय एक तले पक्की घरमा भाडामा सञ्चालन गरिएको किराना पसल र ग्यास डिलरमा आगलागी हुँदा पसलका सामग्री, छ थान ग्यास सिलिन्डर, रिचार्ज कार्ड, नगद लगायत जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ ।
त्यस्तै, सोही घरको अर्को सटरमा रहेको किराना पसलमा पनि आगलागी हुँदा खाद्यान्न सामग्रीसहित करिब दुई लाख २३ हजार बराबरको क्षति भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको टोली, दमकल र स्थानीय वासीको सहयोगमा राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






