बारा । बारामा १५ किलो गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारीका २६ वर्षीय अखिलेश कुमार साह र १९ वर्षीय राजकुमार पासवान रहेका छन् । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका २१, अमलेखगञ्जमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर २२ जे ५३३३ नम्बरको भारतीय कारमा सवारी गरिरहेका उनीहरूको कार जाँच गर्दा सिटमुनि फलामको फल्स बटम बनाई लुकाइएको अवस्थामा गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
बरामद गरिएको गाँजा १५ केजी रहेको र दुवैलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त कारलाई संकास्पद देखेर रोकी जाँच गर्दा गाँजा भेटिएको हो । पक्राउ परेका दुवै व्यक्तिमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
यसअघि पनि अमलेखगञ्ज क्षेत्रलाई लागूऔषध तस्करीको ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले सीमा क्षेत्रमा लागूऔषध तस्करी रोक्न कडा निगरानी गरिरहेको बताएको छ ।




