धनगढी । कैलालीको गोदावरी नगरपालिकाका पदाधिकारी, ठेकेदार कम्पनी, वडाका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समितिका संलग्नतामा चुरे तटीय क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार भइरहेको छ ।
गोदावरी नगरपालिकाका वडा ११ र १२ मा पर्ने मछली खोला र रातो पानी क्षेत्रबाट खुलेआम ढुंगा, गिट्टी, बालुवा चोरी निकासी भइरहेको हो । मछली खोला क्षेत्रको महाकाली सिँचाइ प्रणालीको बाँधमा पनि नदीजन्य पदार्थ उत्खनन गर्नु निषेध गरिएको भएपनि यहाँबाट अवैध उत्खनन जारी छ ।
सोनी कन्स्ट्रक्सन कम्पनीले नगरपालिकाको राजस्व रसिदमा मछली खोला र रातो पानी क्षेत्रबाट ढुंगा, बालुवा संकलन गर्दै राजस्व तिरेको दाबी गरेको छ । स्थानीय बासिन्दाका अनुसार, ट्र्याक्टरहरूले नदीजन्य पदार्थ ओसारिरहेको अवस्थामा देखिएको छ ।
गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले यी क्षेत्रमा नदीजन्य पदार्थ संकलनका लागि कुनै ठेक्का सम्झौता नगरिएको बताउँदै, यस्ता गतिविधिहरू गैरकानुनी रहेको स्पष्ट पारेका छन् ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले अवैध उत्खननको नियन्त्रण स्थानीय तहको जिम्मेवारी रहेको भन्दै चुरे क्षेत्रको संरक्षणमा सबैको दायित्व रहेको बताए ।
स्थानीय बासिन्दाले अवैध उत्खननको कारण चुरे क्षेत्रको पारिस्थितिकीमा गम्भीर असर पर्ने र प्राकृतिक विपद्को जोखिम बढ्ने चेतावनी दिएका छन् ।




