वीरगंज । वीरगंज महानगरपालिका ३ स्थित प्रगतिनगर टोलमा रहेको श्रृष्टी किराना जेनरल स्टोरबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद गरिएको छ । शनिबार बिहान प्रहरीले उक्त स्टोरका संचालक राजाराम महतो कोईरीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय छप्कैया र सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गण हेक्वा चिनीमिल पर्साबाट खटिएको संयुक्त टोलीले प्राप्त विशेष सूचनाको आधारमा स्टोरमा तलासी गरेको थियो ।
तलासीका क्रममा स्टोरमा लुकाएर राखिएको अवस्थामा ट्रामाडोलका १ लाख ५१ हजार ८ सय ६० ट्याब्लेट बरामद गरिएको प्रहरीको भनाइ छ । ३८ वर्षीय कोईरी, जो वीरगंज महानगरपालिका १ निवासी हुन्, अवैध लागूऔषध खरिद–विक्री तथा अनाधिकृत भण्डारणको आरोपमा पक्राउ परेका छन् ।
लागूऔषध सम्बन्धी कसूरमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध तस्करीको सञ्जाल तोड्न र अवैध गतिविधिमा संलग्नलाई कारबाही गर्न निगरानी र छापा जारी राखेको जनाएको छ ।




