सर्लाही । गोडैता नगरपालिका १२ मधुवनीचोकमा अवैध लागूऔषधसहित दुई जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका ४, ठुलीदमारका ३४ वर्षीय तेज बहादुर बराईली र बारा निजगढ नगरपालिका १, सिंगोलका ४२ वर्षीय आनन्द बराईली रहेका छन् ।
इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी मधुवनगाउँको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प ५२६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा प्रहरीले ५२.५१ ग्राम सेतो हेरोइनजस्तो देखिने पदार्थ, नगद ३०,३२० रुपैयाँ र २ थान मोबाइल बरामद गरेको छ ।
त्यसैगरी, सर्लाहीको हरिवन नगरपालिका १० मा प्रहरीले गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले जय कुमारी पासवानको घर तलासी गर्दा करिब १ किलो ७७ ग्राम गाँजा फेला परेको हो । ६५ वर्षीया पासवानलाई बुधबार राति नियन्त्रणमा लिइएको छ । पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध कारोबार सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




