म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका ४ बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं. २ को सुरुङ जाने सडकबाट बिपी २ ए ७५६८ नम्बरको ट्रिपर करिब तीन सय मिटर तल खस्दा चालक र सहचालक दुबैको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार दुर्घटनामा भारत उत्तर प्रदेशका ३३ वर्षीय चालक दशरथ यादव र मध्यप्रदेशका ४० वर्षीय सहचालक शत्रुधन रजकको मृत्यु भएको छ । प्रहरीका अनुसार, गतराति करिब १ बजेदेखि बेपत्ता रहेका उनीहरू आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेको अवस्थामा फेला परेका हुन् ।
शवलाई प्रहरी र जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरूको सहयोगमा घटनास्थलबाट निकालिएको छ । राहुघाट जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडद्वारा निर्माण भइरहेको छ ।
आयोजनाको निर्माण जिम्मा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले लिएको छ । ४० मेगावाट क्षमताको यस आयोजनाको काम भइरहेको बेला दुर्घटना भएको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।






