धनगढी । धनगढीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बाजुराको बढीमालिका नगरपालिका ७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको छ । खत्री त्यही वडाको चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत थिए ।
धनगढीमा आयोजना गरिएको तालिममा सहभागी हुन आउँदै गर्दा बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका ३ को लक्ष्मी नर्सरी नजिकै दुर्घटना भएको हो । खत्री सवार सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकल धनगढी ५ का २५ वर्षीय पुरन शाहले चलाएका थिए ।
उक्त मोटरसाइकललाई डोटीको शिखर नगरपालिका ११ की २५ वर्षीया शर्मिला थापाले चलाएको सुपप्र ०१००७११ प नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पुरन शाह पेट र मुखमा घाइते भएका छन् भने धर्मराज खत्रीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएपनि साँझ ६ बजेर ५५ मिनेटमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।
घटनापछि मोटरसाइकल चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




