झापा । झापाको बिर्तामोड नगरपालिका १ र झापा गाउँपालिका ४ क्षेत्रबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ६ ग्राम १ सय ५० मिलिग्राम पदार्थ सहित २८ वर्षीय सुमित श्रेष्ठलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी, झापा गाउँपालिका ४ स्थित पेच्कर बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम २ सय मिलिग्राम पदार्थसहित २१ वर्षीय सन्देश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
राई भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा इलाका प्रहरी कार्यालय कुमरखोदका टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यी दुई जनालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ ।




