सर्लाही । बोक्सीको आरोप लगाउँदै महिलालाई गालीगलौज गरेको अभियोगमा अदालतले सजाय तोकेका फरार अभियुक्तलाई सर्लाहीको लालबन्दी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति लालबन्दी नगरपालिका ५ का ३७ वर्षीय नारायणप्रसाद उप्रेती हुन् ।
सर्लाही जिल्ला अदालतले २०७८ पुस २ गते उप्रेतीलाई बोक्सी आरोप मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
सुरुमा धरौटीमा रिहा भएका उप्रेती अदालतले फैसलाको पूर्णपाठ जारी गरेपछि फरार भएका थिए । इलाका प्रहरी कार्यालय, लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार पक्राउ परेका उप्रेतीलाई कैद भुक्तान तथा जरिवाना असुलीका लागि मलंगवा कारागार चलान गरिएको छ ।




