अछाम । अछामको कमलबजार नगरपालिका ३ बयलाका एक किशोरको बोयलर कुखुराको मासु खाएपछि मृत्यु भएको छ । १५ वर्षीय कमल विकको मृत्यु भएको छ भने उनका ७० वर्षीया बज्यै, १४ वर्षीया बहिनी सीता विक र ९ वर्षीय भाइ विकास विक गम्भीर बिरामी भएका छन् ।
घटनाको विवरण अनुसार, कमल विकले शुक्रबार बेलुकी गाउँको नजिक रहेको बेलखेत बजारबाट मरेको बोयलर कुखुरा ल्याएर खाएका थिए । त्यसपछि उनले अस्वस्थ महशुस गरे र केही समयपछि मृत्यु भएको हो । अन्य तीन जना परिवारका सदस्य पनि अस्वस्थ भएका छन् र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ ।
वडा अध्यक्ष नन्दसिंह कुँवरका अनुसार, घटना थाहा पाएपछि मात्र उनीहरूले मरेको बोयलर कुखुरा खाएको कुरा पत्ता लगाए । ‘हामीले आज थाहा पायौं, त्यो केटालाई बचाउन सकिएन,’ उनले भने ।
अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मंगलसेन ल्याइएको छ । मृतकका बुवा, आमा र जेठो भाई भारतमा रोजगारीको सिलसिलामा रहेको बताइएको छ ।




