रौतहट । रौतहटको पूर्वी क्षेत्रस्थित राजदेवी नगरपालिका ५ पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ । आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी राति सवा २ बजे पताहीका जगतनाथ पासवानको खरले बारिएको घर नजिक बालेको घुरबाट सुरु भएको हो ।
आगलागीले बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानका घर पूर्ण रूपमा नष्ट भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, आगलागीबाट झन्डै ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो नियन्त्रण गर्न बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाह नेतृत्वमा १० जना, प्रहरी चौकी बसन्तपुरका असई रामलगन दास नेतृत्वमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरूको टोली परिचालन गरिएको थियो । प्रयासपछि बिहान ३स्३० बजे आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीमा कुनै मानवीय क्षति नभएको र आगलागीका कारण बासिन्दा विस्थापित बनेका छन् । स्थानीय प्रशासनले क्षतिको विस्तृत विवरण संकलन गर्न र पीडितलाई राहतको व्यवस्था गर्न प्रक्रिया अघि बढाएको जनाएको छ ।




