वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बहुदमाई गाउँपालिका ३ नगरदाहा निवासी ३६ वर्षीय मिश्री राम हुन् ।
सशस्त्र प्रहरीको टोलीले भारतबाट पैदल आउँदै गरेका मिश्री रामलाई चेकजाँच गर्ने क्रममा हरियो खुर्साको बोराभित्र लुकाइएका लागूऔषध फेला पारेको हो । बरामद लागूऔषधमा डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराईड इन्जेक्सन ४९७ एम्पुल रहेका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका व्यक्तिलाई बरामद लागूऔषधसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्रहरूमा कडाइका साथ चेकजाँच गर्दै लागूऔषध तस्करी रोक्न सक्रियता बढाएको जनाएको छ ।




