झापा । झापाको कमल गाउँपालिका ५ पाथिभारा टोल स्थित बिनोद खरेलको लक्ष्मी पशु तथा कृषि गाई फर्ममा सोमबार दिउँसो करेन्ट सर्ट भई आगलागी भएको छ । आगोले फर्मलाई पूर्णरूपमा नष्ट गर्दै करिब १६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी, झापा बिर्तामोड नगरपालिका ७ मियावारी स्थित ललित बहादुर अधिकारीको मिल घरमा पनि विद्युत सर्टका कारण आगलागी भएको छ । आगोले मिल घरसँगै रहेको ग्वाली घर समेत जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दुवै घटनामा आगो नियन्त्रण गर्न प्रहरी र स्थानियले मिहिनेत गरेपनि ठूलो धनमालको क्षति भएको छ । यस सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




